Social Icons

9/28/13

कलाकार चिनारी,


कलाकार चिनारी
मधु गुरुङ

“ यो धर्ती यो आकाश आधा हिस्सा हाम्रै हो
आफ्नो हक लिनलाई अघि बढ्ने हो ।”

यसरी स्वर गुञ्जाउने कलाकारको नाम हो मधु गुरुङ । खासमा उनको नाम रत्न देवी गुरुङ हो तर उनी  मधु गुरुङको नामले चिनिन्छिन् नेपाली संगीत जगतमा, अझ खासगरी नेपाली जनसंगीतको क्षेत्रमा । पूर्वाञ्चलको मोरङ्ग जिल्लाको बेलबारी ४मा वि.सं. २०२६ सालमा जन्मिएकी रत्नदेवी २०४५ साल देखि नेपाली जनसंगीत क्षेत्रमा मधु गुरुङको नामबाट उदाएकी हुन् । मुमा दुर्गामाया र बुबा डम्बर बहादुर गुरुङलाई बेलबारीमा नै परिवारसाथ छाडेर उनी काठमाण्डौ पसेर आफ्नो औपचारिक शिक्षाका साथै जनसंगीत मार्फत नेपालको राजनैतिक रुपान्तरणको कार्यमा संलग्न भईन । अझ पनि त्यही काममा उनी अनवरत जुटी रहेकिछिन् ।
बि म्युज सम्मको संगीत शिक्षा हासिल गरेकी उनको प्रमुख विधा गायन हो । यसका साथै उनी गीत लेखन र संगीत सिर्जनामा पनि उनको त्यत्तिकै दखल राख्दछिन् । यस अतिरिक्त नृत्य तथा अभिनयमा पनि उनको संलग्नता रहिआएकोछ ।
हालसम्मको २५ वर्षको उनको संगीत यात्रामा उनले स्वदेशका ६६जिल्ला र विदेशका  उत्तर कोरिया, चीन, थाईलैण्ड, कतार, भारत तथा हङ्गकङ्ग मा गरी ६००० भन्दा बढी कार्यक्रमको प्रस्तुतिमा सहभागी भइसकेकी छिन् । हालसम्म उनको“ पाइला चालिरहेछु ” र “ मधु गुरुङको पाइला ” नामका दुइ एकल गिति अल्बम  र संयुक्त स्वर भएको ५० वटा अल्बम प्रकाशित भइसकेकोछ ।  उनका पुस्तक कृतिमा “ कर्णालीमा हाम्रो सांस्कृतिक पाइला(यात्रा संस्मरण)” र “ बाटो रोजें (गीत संग्रह) ” प्रकाशित छन् । करीब ३०० वटा गीत रचना र त्यतिकै संख्यामा संगीत सिर्जना गरिसकेकी मधु गुरुङ नेपाली भाषाका अतिरिक्त भोजपुरी ,मैथिली र  गुरुङ भाषाका गीत गाउनमा पनि पोख्त छिन् ।
शोषण उत्पीडन, जातीय विभेदको अन्त्य गरी महिला अधिकारको रक्षा र समानतापूर्ण व्यवस्थाको लागि लोकतन्त्रको स्थापना गर्न जनसंगीत क्षेत्रमा प्रवेश गरेको बताउने उनलाई जनसंगीतले जनताको चेतनास्तर उकासेको, पञ्चायत व्यवस्थाको अन्त्य गरी लोकलन्त्र हुदै गणतन्त्रको स्थापना भएको तथा नागरिक अधिकारको स्थापना  गर्नमा महत्वपूर्ण सहयोग पुर्याएको छ भन्नुमा गर्व लागेको छ । जनताको लामो आन्दोलन र बलिदानले प्राप्त गरेको लोकतन्त्रको जगेर्ना गर्नमा लागिरहेकी छिन् ।
आनन्दभूमी बोर्डिङ्ग स्कुल र कुलेश्वर आवासिय मा वि मा संगीत शिक्षण गर्दै जीवन धान्ने मेलो गरीरहेकी मधु गुरुङ “कृतिका सामाजिक सांस्कृतिक रुपान्तरणका लागि महिला अभियान ”नामको संस्थामा अध्यक्ष र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालमा उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छिन । उनी सार्थक जनसंगीत प्रतिष्ठानमा पनि आवद्ध छिन् । आर्थिक समस्याका कारण    लोकतन्त्र स्थापनाको लागि जीउज्यान दिने जनसंगीत कर्मीहरुका सृजनाले रेकर्ड हुन नसक्नुको पीडा मधु गुरुङ पनि खपीरहेकी छिन  । दुःखले रेकर्ड भरिएका सृजनाहरुले पनि विद्युतीय प्रशारणका माध्यममा समुचित स्थान पाउन नसकेको दुखेसो पनि उनीसंग रहेकै छ ।
जतिसुकै बाधा र कठीनाईका बावजूद पनि मधु गुरुङबाट नेपाली श्रोताहरुले गीतहरु  पाइरहेकै छन् ।

No comments:

Post a Comment