कलाकार परिचय
अमरराज शर्मा राजोपाध्याय
“आयो भन्छन् खुशीका दिनहरु
भनन म कसरी पत्याउँ”
यस्ता अभिव्यक्तिहरु दिने अमरराज शर्मा राजोपाध्याय अझै पनि सृजनामा जुटीरहेकै छन् ।
आफ्नो कलालाई साधारण जनसमुदायको सेवामा समर्पण गर्ने धेरै नेपाली कला साधकहरु मध्ये अमरराज शर्मा राजोपाध्याय पनि एक हुन् । पं. जलेशानन्द राजोपाध्याय र ऋद्धेश्वरी राजोपाध्यायका सुपुत्र अमरराजले २००९ सालको श्रीपञ्चमीको दिन यस धरतीमा प्रथम पाइला टेकेका हुन् । बुबा शास्त्रीय संगीतका ज्ञाता हुनुको नाताले अमरराजले शिशु अवस्थादेखि नै सरगममा हाँस्नु र सरगममा नै रुनु गरे भनेपनि हुन्छ । यसरी घरमा नै संगीत गुरु प्राप्त भयो उनलाई ।
गरीव निमुखा जनताको पक्षमा जुटनु पर्छ र आर्थिक समानता उदय हुने विचारधाराबाट प्रेरित भएर देशको लागि केही गर्नु पर्छ भन्ने मनमा लागेर जनसंगीतको क्षेत्रमा उनले २०३२ साल देखि प्रवेश गरेका हुन । वामपन्थी राजनीतिक प्रशिक्षणबाट उनमा रहेको राष्ट्रप्रेमको भावना र स्वतन्त्रता प्राप्तिको चाहनालाई सांगीतिक क्षेत्रबाट अभिव्यक्त गरे । यस क्रममा उनले धेरै गाउँ वस्ती र टोलहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै हिडेका छन् । समुदायलाई निरंकुशताको विरोधमा संगठीत गर्नमा आफ्नो स्वरबाट सहयोग गरेका छन् । क्याम्पस क्याम्पसमा प्रगतिशील गीतहरु गाएर हिंडेका छन् । कार्यक्रम प्रस्तुत गर्दै हिंडदा धेरै पल्ट प्रहरीबाट लखेटिएका छन् । एकपल्ट विस्तार क्याम्पसको कार्यक्रमबाट पुलिसले लखेट्दै लैजादा भाग्न अप्ठ्यारो भएकोले हातमा भएको गिटार नजीकैको चियापसलमा फुत्त फ्याँकेर धाइफल दिएको घटना उनले बिर्सेका छैनन् । त्यो भन्दा पनि अझ २०४६ सालको जनआन्दोलनमा सरीक भईरहको बेला पाटनमा सेनाहरु पसेको समयमा उनीहरुको घेरामा परेको याद ताजै संगाली राखेका छन् । सेनाले घेरामा पारेको बेला आफ्नो हातमा पनि डण्डा भएको र सेनाले ‘हल्ट’ भनेकोबेला आफ्नो डण्डी नफालेको भए गोली खाइन्थ्यो होला वा इहलीला समाप्त नै हुन्थ्यो होला भन्ने सम्झनाले उनको आङ अचेल पनि फुलेर आउँदो रहेछ ।
अमरराजले नेपाली भाषामा केही रचना गरेर गाएका छन तर धेरै जसो नेपालभाषामा उनले संगीत गरेका छन्, गाएका छन् । उनले युवाहरुको चाहनालाई ध्यानमा राखी नेपालभाषाको प्रचलित बालगीत, परम्परागत लोक गीतहरुलाई समावेश गरी र्याप शैलीमा पनि गीत प्रस्तुत गरेका छन् । उनको “आशकुटी” नामको नेपालभाषाको अल्बम निकै चल्ती भएको थियो । यसमा प्रगतिशील गीतका साथै चल्तीका प्रेमधारका गीतहरु समाबेश गरेका छन् । भिन्न विचार र भिन्न शैलीका गीतहरुको संग्रह “आशकुटी” पछि अर्को अल्बम निकाल्न नसकेको पीडा छ उनमा । आर्थिक अभावका कारणले अझै उनका छ दर्जन भन्दा बढी सृजनाले एकल अल्बमको रुपमा देखापर्न सकेका छैनन ।
२०५२ साल सम्म प्रगतिशील संगीत फाँटमा सक्रिय रुपले लागेका उनी अहिले त्यो फाँटमा त्यति सक्रिय हुन सकेका छैनन । केही आफ्नै कारणले केही अग्रज कलाकारका उपेक्षाका कारणले र केही राजनीतिक कारणले निष्क्रियता बढाएको छ उनमा । सृजनाको क्षेत्रमा प्रगतिशील विचारका साथै प्रेमभावका गीतहरु पनि सृजना गरिरहने उनको दृष्टिकोण अरुसंग नमिलेर पनि यसो भएको हो । कुनै प्रगतिशील सांगीतिक समुहमा रहेर सक्रिय नरहेपनि उनले प्रगतिशील गीत सृजन छाडेका छैनन् ।
प्रगतिशील गीत संगीतले प्रत्येक युवाहरुलाई राजनीतिक सचेतना हुनुपर्छ र अन्यायको विरोधमा , निमुखाको पक्षमा लडनुपर्छ भन्ने भावना फैल्याएको कुरामा अमरराज गर्व गर्दछन् ।
प्रस्तोताः श्याम
No comments:
Post a Comment