Social Icons

6/26/13

"गाउँबस्ती जगाउन छाड्दिनँ"

रमेशचन्द्र अधिकारी

गाउँ गाउँबाट उठ,
बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ...

जनआन्दोलनताका गाउँबस्तीलाई यस गीतले साँच्चै जगाएको थियो । आन्दोलनलाई गति दिन सक्ने यस्तो सशक्त गीतका रचनाकार तथा संगीतकार श्याम तमोट पनि यस बेला साँच्चै जागेका छन् । तर दुःखित मनले । मुलुकमा आएको परिवर्तन जनताका लागि होइन रहेछ भन्ने नेता भनाउँदाहरूका क्रियाकलापले पुष्टि गरिरहेका छन् । यस्तो बेला आन्दोलनका गीतकार आक्रोशित हुनु अनौठो होइन पनि । 'कलम बिसाउने बेला अझै आइसकेको छैन,' हालैको भेटमा उनले कान्तिपुरसँग भने, 'मुलुकमा नयाँ शासकहरू थपिए, जनताको अधिकार कुण्ठित छ, गाउँबस्ती जगाउन छाडदनँ ।'

गाउँबस्तीका यी गीतकार २०११ सालमा भोजपुरको टक्सारमा जन्मेका हुन् । अचेल सपरिवार भोजपुरकै दाँवा गाविस-५ मा बसोबास गर्छन् । उनी २० वर्षको उमेरदेखि जागरण गीत रचनामा लागिपरेका हुन् । पञ्चायतविरुद्ध भूमिगत विद्रोह तथा २०४६ सालको निणर्ायक आन्दोलनदेखि दोस्रो जनआन्दोलनसम्म उनका गीत उत्तिकै चर्चित र सशक्त सावित रहे । यसले चाहिँ उनलाई 'जीवनमा सबैभन्दा खुसी दिएको छ ।'

साढे तीन दशकअघि रामेश, मञ्जुल, प्रदीप नेपाल, रामकृष्ण दुवाललगायतले थालेको राल्फा सांगीतिक यात्राबाट प्रभावित बनेका तमोट त्यसलगत्तै गीत रचना र संगीतमा लाग्दै आएका हुन् । 'हिँड मेरा दाइ हो झम्पल बोकेर...,' 'संघर्ष हो जीवन, जीवन संघर्ष हो...' जस्ता सिर्जना पनि आन्दोलनहरूका लागि तमोटका उपहार हुन् ।

'गीतका माध्यमले तत्कालीन शासकविरुद्ध जनतामा जागरण दिन आयोजना गरिएको यात्रा भोजपुर पुग्दा रामेश तथा मञ्जुलको सम्पर्कमा आएको थिएँ,' उनले भने, 'त्यस बखत म स्कुले जीवनमा थिएँ ।'

तमोटले हालसम्म डेढ सय गीत रचना गरेका छन् । एउटा गीत संग्रह प्रकाशित छ ।  उनको सबैभन्दा लोकपि्रय गीत 'गाउँ गाउँबाट उठ...'  शिक्षा संकायको स्नातक दोस्रो वर्षको नेपाली पाठ्यक्रममा समेत समावेश छ । 'बलिदान' फिल्मका अधिकांश गीत उनैले रचेका हुन् ।

 'सबैतिर आफ्ना गीत बज्दा आफैं पुगेजस्तो महसुस हुन्छ,' उनले सुनाए ।

अब त केही होला भनेर ढुक्क भएकोले रचनाकर्मलाई केही विराम दिँदै आएको बताउने उनले जिम्मेवार नेताहरूले समय नचिनेको भन्दै दुःख व्यक्त गरे । 'यस्तै हो भने जनताले आफ्ना अधिकारका लागि फेरि आवाज उठाउनेछ,' उनले भने, 'कलम चलाउनेहरू सशक्त हुने बेला टरेको छैन ।'

साभार:  www.ekantpur.com (२०६७ फाल्गुन १२ ०९:११)

No comments:

Post a Comment